Home कलाधुमिल बिहानीको रहस्यमय रङ्ग: सूर्य र रूखको संवाद

धुमिल बिहानीको रहस्यमय रङ्ग: सूर्य र रूखको संवाद

by Dhruva Poudel
1 comment

बिहानीको पख जब आँखा खुल्छ, हाम्रो मनले निलो आकाशको खोजी गर्छ, चम्किलो किरण पर्खिन्छ । तर आजको बिहानी भने केही अलग छ, यो त्यो प्रकृतिको अनौठो कला हो, जहाँ वातावरण सपना र वास्तविकताको बीचमा अड्किएको छ। यो दृश्यले मनलाई एउटा अपूर्व शान्ति प्रदान गर्छ, जुन भोलि पल्टिएर हराए जस्तो हुन्छ।

यहाँको आकाशमा साधारण दिनहरूको तेज र चम्किलो निलो रंगको अभाव छ। बरु, त्यो तातो गुलाफी रंगले सितले भिजेको माटोको सुगन्ध फैलाएको छ। ओसिलो कुहिरो भरिएको यो आकाश कुनै चित्रकारले क्यानभासमा सपना जस्तै रङ्गिएको लाग्छ— सुन्दर, सुमधुर र रहस्यमय।

यो कोमल र धुमिल दृश्यको बीचबाट उभिएको सेतो पानी ट्यांकी एक्लै प्रखर रूपमा देखिन्छ। यो मानवीय प्रयासको प्रतीक हो, जसले विशाल प्रकृति बीचमा आफ्नो अस्तित्व जनाएको छ। चम्किलो रातो सूर्य , जस्लाई देख्दा लाग्छ उसले ट्यांकीको टुप्पालाई आफ्नो राजकीय ‘मुकुट’ बनाएको छ। ट्यांकीको गह्रौं र कृत्रिम सेतो रंग र सूर्यको जीवन्त र प्राकृतिक रातो रंगबिचको तुलनाले दृश्यलाई अझ अद्भुत बनाएको छ। यो मानव निर्मित र प्राकृतिक सौन्दर्यबिचको अनौठो संगति हो।

ट्यांकी र सूर्यलाई वरिपरिका रूखहरूले सिपाही जस्तो साथ दिएका छन्। जति टाढा हामी दृश्यलाई हेर्छौं, उत्तिकै रहस्य थपिदै जान्छ। अगाडिका रूखहरू स्पष्ट र ठोस रूपमा कुरा गर्छन्, तर पछाडिका रूखहरू बिहानीको गाढा कुहिरोमा हराउँदै गएका छन्, मानौ तिनीहरू कुनै अन्य संसारमा लुकेका छन्। अगाडिको स्पष्टताले जीवनको वास्तविकता बुझाउँछ भने पछाडिको धुमिलपनले भविष्यको अनिश्चितता र रहस्यलाई।

यो शान्त तर रहस्यमय बिहानीले मनलाई एउटा अनौठो शान्ति दिन्छ, जसले भोलिपल्टि जिन्दगीको धक्का र घमण्डलाई केही समयका लागि विसर्जित गराउँछ। यो एउटा एकान्त अनुभूति हो, जहाँ मात्र सूर्य, रूख र कुहिरोको बीचमा सम्वाद चल्छ।

You may also like

1 comment

Bhual February 15, 2026 - 9:11 AM

Good

Reply

Leave a Reply to Bhual Cancel Reply