चेन्ने फेब्रुअरी, ११, चेन्नेमा भएको रोमाञ्चक खेलमा न्युजिल्याण्डले संयुक्त अरब इमिरेट्स (UAE) लाई १० विकेटले पराजित गर्दै टी-ट्वेन्टी विश्वकपकै एउटा ठूलो कीर्तिमान कायम गरेको छ। १७३ रनको विशाल लक्ष्य पछ्याउन उत्रिएका न्युजिल्याण्डका ओपनर फिन एलेन (८४ नटआउट) र टिम साइफर्ट (८९ नटआउट) ले बलरहरूलाई नै छक्क पारे। उनीहरूबीचको १७५ रनको अविच्छेदनीय साझेदारीले विश्वकप इतिहासमै कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो भागीदारीको रेकर्ड (अघि इंग्ल्याण्डको १७० रन) भंग गर्यो। मात्र १५.२ ओभरमै जित हासिल गर्दै न्युजिल्याण्डले आफ्नो दबदबा कायम गर्यो।
यस्तै, नयाँ दिल्लीमा भएको अर्को खेलमा बास डी लिडको अलराउन्ड प्रदर्शनीले नेदरल्याण्डलाई नामिबियाविरुद्ध ७ विकेटको जित दिलायो। टस जितेर बलिङ गरेको नेदरल्याण्डले नामिबियालाई १५६ रनमा रोक्यो। जवाफी ब्याटिङ गर्दै डी लिडले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा अविजित ७२ रन बनाए र टोलीलाई १८ ओभरमै नै विजयी बनाए।
अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले क्यानाडालाई ५७ रनले पराजित गर्यो। दक्षिण अफ्रिकाले अन्तिम तीन ओभरमा ४७ रन जोड्दै २१३ रनको विशाल स्कोर बनायो, जुन यो पटकको टूर्नामेन्टको सबैभन्दा ठूलो स्कोर हो। क्यानाडाले जवाफमा १५६ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि लुंगी एन्गिडीले चार विकेट लिए।
अन्त्यमा, कोलम्बोमा जिम्बाब्वेले ओमानलाई ८ विकेटले हराउँदै आफ्नो अभियानको सुखद सुरुवात गर्यो। ओमानको टोली १०३ रनमै अलआउट भयो। जिम्बाब्वेका तीन फास्ट बलरहरूले तीन-तीन विकेट लिएपछि ब्रायन बेनेटको ४८ रनको अविजित पारीको सहयोगले टोलीले सजिलै जित हासिल गर्यो।