यस वर्ष देशभर नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ गरी कुल पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षार्थीमध्ये छात्राको संख्या छात्रभन्दा बढी रहेको छ।
यस वर्ष देशभर नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ गरी कुल पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षार्थीमध्ये छात्राको संख्या छात्रभन्दा बढी रहेको छ।
कपिलवस्तुमा ३५ परीक्षा केन्द्र, ८ हजार ३९६ नियमित परीक्षार्थी
जिल्लाका परीक्षार्थी, अभिभावक र शिक्षकको ध्यान पनि परीक्षा केन्द्र र व्यवस्थापनमा केन्द्रित छ। कपिलवस्तु जिल्लामा यसपटक ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
जिल्लाका नियमित विद्यार्थीको कुल संख्या ८ हजार ३९६ जना रहेको छ। जसमा ४ हजार ३७० छात्र र ४ हजार २६ छात्रा रहेका छन्। ग्रेड वृद्धिका लागि भने थप १ हजार ५१४ जना विद्यार्थी सहभागी हुनेछन्। यसरी कपिलवस्तुमा कुल परीक्षार्थीको संख्या १० हजारभन्दा माथि रहेको छ।
परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण, एक महिनामै नतिजा
यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको व्यवस्थापनमा केही महत्वपूर्ण परिवर्तन गरेको छ। परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने योजनाअनुसार यसपालि परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिने भएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले नतिजा एक महिनाभित्र ल्याउन निर्देशन दिइसकेका छन्।
यस्तै, परीक्षा केन्द्रको सामूहिक अनुगमनमा रोक लगाइएको छ। विभिन्न सङ्घसंस्थाका प्रतिनिधि अनुगमनका नाममा हलभित्र प्रवेश गर्दा विद्यार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासोपछि बोर्डले यस्तो निर्णय गरेको हो। अब अनुगमन जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले मात्र केन्द्रको बाहिरी क्षेत्रबाट गर्नेछन्।
यस्तो छ परीक्षा तालिका
पहिलो दिन (चैत १९ गते) अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यसैगरी, चैत २० गते अनिवार्य नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्ड, २६ गते ऐच्छिक द्वितीय खण्ड, र २७, २८, २९ गते प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन हुनेछ।
प्रत्येक परीक्षा केन्द्रमा १५ जना प्रहरी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, २० परीक्षार्थीमा एक निरीक्षक र १०० परीक्षार्थीमा एक कार्यालय सहयोगीको व्यवस्था गरिएको छ। जिल्लाका ३५ वटै केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ।