Home व्यवसायपारिजात आवासीय माध्यमिक विद्यालयको २५औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन भव्य रूपमा सम्पन्न

पारिजात आवासीय माध्यमिक विद्यालयको २५औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन भव्य रूपमा सम्पन्न

by Dhruva Poudel
0 comments

चैत्र ३०, २०८२

पारिजात आवासीय माध्यमिक विद्यालयको २५औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा वार्षिक परीक्षाफल प्रकाशन कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ। विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमले शैक्षिक उत्कृष्टता, अभिभावकीय सहभागिता र सामाजिक दायित्वको सुन्दर संगम देखाएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बसन्तराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी, शिक्षाप्रेमी तथा प्राकृतिक योग विशेषज्ञ श्री आत्माराम आचार्य उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष श्री विष्णु गिरीले कार्यक्रमको गरिमा बढाएका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्राचार्य श्री रमेश पाण्ये तथा शिक्षिका उत्प्रेक्षा पराजुलीले संयुक्त रूपमा गर्नुभएको थियो भने विद्यालयकी शिक्षिका गोमा अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्घाटन सत्रमा विद्यालयका छात्रछात्राहरूले सांस्कृतिक प्रस्तुति, योग तथा मार्शल आर्टको मनमोहक प्रदर्शन गरेका थिए। विद्यालयको २५ वर्षे यात्रालाई समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो, जसमा विद्यालयले शैक्षिक गुणस्तर, खेलकुद, कलाकौशल र अनुशासनमा पुर्याएको उपलब्धिलाई रेखांकित गरिएको थियो।

कार्यक्रममा बोल्दै विभिन्न अभिभावक, सामाजिक व्यक्तित्व तथा शिक्षाप्रेमीहरूले पारिजात आवासीय माध्यमिक विद्यालय यस क्षेत्रको उत्कृष्ट शैक्षिक संस्था भएकोमा जोड दिए। वक्ताहरूले विगत २५ वर्षदेखि विद्यालयले यस क्षेत्रको शैक्षिक गरिमा उच्च राख्दै आएको र आज पनि यसले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए। अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण, शिक्षकको लगनशीलता र विद्यार्थीको अनुशासनप्रति सन्तुष्टि व्यक्त गरे।

विशिष्ट अतिथि वडा अध्यक्ष श्री विष्णु गिरीले आफ्नो सम्बोधनका क्रममा पारिजात विद्यालयको शैक्षिक उपलब्धीको चर्चा गर्दै भन्नुभयो, “यस वर्ष कक्षा ८ को परीक्षामा यो विद्यालय नगरपालिकाभित्रै सबै विद्यार्थीलाई उत्कृष्ट GPI सहित पास गराउन सफल एक मात्र विद्यालय हो। यसले पारिजातको शैक्षिक गुणस्तर साँच्चिकै प्रशंसनीय रहेको प्रमाणित गर्छ। अभिभावकहरूले यस विद्यालयको शैक्षिक गुणस्तरमा कुनै प्रकारको शंका गर्न आवश्यक छैन।”

त्यस्तै, उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप ब्लक (BLE) तथा SEE परीक्षामा जिल्ला वा नगर स्तरबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः नगद रु. ५०००, रु. ३००० र रु. २००० प्रदान गरिने घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षाप्रतिको लगानी नै समृद्धिको मूल आधार हो। हामी प्रत्येक प्रतिभालाई टहलाउन सदैव तत्पर छौं।”

प्रमुख अतिथि आत्माराम आचार्यले विद्यालयको २५ वर्षे यात्रा स्मरण गर्दै भन्नुभयो, “पारिजातले शिक्षाको क्षेत्रमा मात्र होइन, बालबालिकाको सर्वाङ्गीण विकासमा पनि उल्लेखनीय काम गरेको छ। प्राकृतिक योग र संस्कारको संयोजनले मात्र सच्चा शिक्षा सम्भव छ। यो विद्यालय त्यसैको जीवन्त उदाहरण हो।” उहाँले अभिभावक, शिक्षक र विद्यार्थीबीचको त्रिगुट सम्बन्धलाई सफल शिक्षाको आधार भन्दै यसलाई मजबुत बनाउन आग्रह गर्नुभयो।

अध्यक्ष बसन्तराज खनालले आफ्नो समापन मन्तव्यमा विद्यालयलाई अर्को २५ वर्षमा डिजिटल हबको रूपमा विकास गर्ने योजना रहेको बताउँदै सबैको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा नगद पुरस्कार, प्रशंसापत्र तथा विभिन्न स्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

पारिजात आवासीय माध्यमिक विद्यालयको यो २५औँ वार्षिकोत्सवले शिक्षा, संस्कार र सामुदायिक सहकार्यको अभूतपूर्व उदाहरण प्रस्तुत गरेको छ। विद्यालयले निकट भविष्यमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसमेत लिएको छ ।

You may also like

Leave a Comment