सा.अ.सं., काठमाडौँ
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयलाई पूर्णता दिने क्रममा लामो समयदेखिका विश्वासपात्र सुरेन्द्र बजगाईँलाई प्रेस सहजकर्ता नियुक्त गर्नुभएको छ। मंगलबारदेखि लागू हुने गरी प्रधानमन्त्री शाहले ललितपुरका बजगाईँलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पिनुभएको हो।
यो नियुक्तिसँगै बालेन्द्र शाह र सुरेन्द्र बजगाईँबीचको ‘वर्किङ केमेस्ट्री’ फेरि एकपटक बालुवाटारमा जोडिएको छ। शाह काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) रहँदा पनि बजगाईँले नै उनको सञ्चार मामिला सम्हाल्नुभएको थियो। महानगरमा रहँदा शाहका योजना र कामहरूलाई सञ्चारमाध्यमसम्म पुर्याउन बजगाईँले खेलेको भूमिका प्रभावकारी मानिएकाले नै प्रधानमन्त्री बनेपछि पनि शाहले उनैलाई पछि सचिवालयमा भित्र्याउनुभएको बुझिएको छ।
राजनीतिक नियुक्तिअन्तर्गत विज्ञको सुविधा पाउने गरी नियुक्त हुनुभएका बजगाईँको मुख्य काम प्रधानमन्त्रीको सचिवालय र सञ्चार जगतबीचको दूरी कम गर्नु हुनेछ। प्रधानमन्त्रीको कार्यालयले मंगलबार नै बजगाईँलाई नियुक्तिको औपचारिक पत्र हस्तान्तरण गरिसकेको छ। आफ्नो कार्यशैलीमा निकै छनोटपूर्ण मानिने प्रधानमन्त्री शाहले पुराना र अनुभवी सारथिहरूलाई साथै लिएर अघि बढ्ने संकेत यस नियुक्तिले दिएको छ।