सा.अ.स. काठमाडौँ।
वर्षभरिको मेहनत र तयारीलाई परीक्षण गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि (बिहीबार)देखि सुरु हुँदैछ। देशभरका लाखौँ विद्यार्थी, अभिभावक र शिक्षकको ध्याण केन्द्रित हुने यो परीक्षाका लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अनुसार चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म चल्ने परीक्षामा यसपालि कुल पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन्। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमतर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी रहेका छन्।
यसपालिको परीक्षा अर्को हिसाबले पनि विशेष छ। परीक्षा दिने विद्यार्थीमा छात्राको सङ्ख्या छात्रभन्दा बढी रहेको छ। दुई लाख ५७ हजार ६१३ छात्राले आफ्नो ज्ञानको परीक्षा दिँदै गर्दा दुई लाख ५४ हजार ८०१ छात्र सहभागी हुँदैछन्। यस्तै अन्य सात जनाले पनि यो परीक्षा दिने बोर्डले जनाएको छ। परीक्षाको तयारी मात्रै नभएर पहुँच पनि विस्तार भएको देखिन्छ। यसपालि जापानमा समेत परीक्षा केन्द्र राखिएको छ, जहाँ २३ जना विद्यार्थीले परीक्षा दिनेछन्। गत वर्ष पनि त्यहाँ परीक्षा केन्द्र थियो।
परीक्षा सुरु हुनुअघि नै बोर्डले परीक्षाको व्यवस्थापन र पारदर्शितामा केही महत्वपूर्ण परिवर्तन पनि गरेको छ। यसपालि परीक्षा केन्द्रको सामूहिक अनुगमनमा रोक लगाइएको छ। यसको पछाडि विद्यार्थीमैत्री वातावरण सिर्जना गर्ने लक्ष्य रहेको बोर्डको भनाइ छ। विगतमा अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि परीक्षा हलमा प्रवेश गर्दा विद्यार्थीको लेखन कार्यमा अवरोध पुग्ने गुनासो आएपछि यो निर्णय लिइएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए। अब अनुगमन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले मात्रै केन्द्रको बाहिरी क्षेत्रबाट गर्नेछन्। पत्रकारहरूले पनि परीक्षा केन्द्रको बाहिरी दृश्य मात्रै छायाङ्कन गर्न पाउने व्यवस्था मिलाइएको छ।
सुरक्षा व्यवस्थालाई पनि प्रभावकारी बनाइएको छ। प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तोकेअनुसार सुरक्षाकर्मी परिचालन हुनेछन्। बोर्डले प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक र अन्य आवश्यक जनशक्तिको व्यवस्था गरेको छ।
यसपालिको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय रहेको छ। यसले नतिजा प्रकाशनको समयलाई उल्लेखनीय रूपमा छोट्याउने अपेक्षा गरिएको छ। परीक्षा नियन्त्रक अधिकारीका अनुसार सम्बन्धित केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित जस्तो अवस्था आएमा मात्रै शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को व्यवस्था गर्न सकिनेछ।
शिक्षामन्त्री सस्मित पोखरेलले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिइसकेका छन्। गत वर्षहरूमा असार दोस्रो सातासम्म मात्रै आउने नतिजा यसपालि विद्यार्थीले छिट्टै पाउने आशा गर्न सकिन्छ।
परीक्षाको पहिलो दिन चैत १९ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सुरु हुनेछ।