२० चैत्र २०८२, काठमाडौँ,
प्रहरी नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका छन्। त्रिवि शिक्षण अस्पतालमा प्रहरी घेरामा उपचाररत ओलीले बयानका क्रममा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनका क्रममा लेथल हतियार प्रयोग गर्ने आदेश आफूले नदिएको स्पष्ट पारेका छन्।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार ओलीलाई ३५ भन्दा बढी प्रश्न सोधिएको थियो। बयानमा ओलीले भनेका छन्: ‘हुलदङ्गा नियन्त्रणमा लेथल हतियारबाट गोली चलाउने आदेश मैले दिएको होइन, त्यो जिल्ला तहबाटै हुने कुरा हो।’
पूर्व प्रधानमन्त्रीले भदौ २२ गते राति सुरक्षा निकायसँगको छलफलमा आफूलाई ‘६–७ हजार जेनजी भेला हुने र प्रदर्शन शान्तिपूर्ण हुने’ भन्ने ब्रिफिङ गरिएको जिकिर गरे। उनले भने, ‘सुरक्षा प्रमुखहरूसँग छलफल हुँदा शान्ति सुरक्षा मिलाउनु भनेको थिएँ।’
ओलीले प्रधानमन्त्रीको हैसियतले हुलदङ्गा नियन्त्रण गर्दा कमभन्दा कम मानवीय क्षति हुनेगरी निर्देशन दिएको तर बल प्रयोगको निर्णय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताए। बयानमा उनले भनेका छन्, ‘कम क्षति हुनेगरी गर्नु भनेको हो, बल प्रयोग गर्ने निर्णय मेरो विषय नै होइन।’
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले बिहीबार राति १२ बजेतिर ओलीको बयान पूरा भएको जानकारी दिए। ओलीले बयानमा प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार नहुने तर्क गरेका छन्। उनले भने, ‘गोली प्रहार गर्नु भनेर प्रधानमन्त्रीले भन्ने पनि होइन।’
भदौ २३ मा बानेश्वरमा हताहती भएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले निष्पक्ष छानबिन आयोग गठन, घाइतेको उपचार र मृतकको परिवारलाई राहत दिने निर्णय गरेको ओलीले उल्लेख गरे। उनले भने, ‘सरकारको तर्फबाट कमभन्दा कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने नै थियो। सेना परिचालनको मनसाय सरकारको नभएकोले त्यसो गरिएन।’
हाल ओली उपचारका क्रममा रहेका छन् र अनुसन्धान जारी छ।